पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।

पहिलो सेट १७-२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१-२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५-१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलिएको थियो ।

पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५-१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो ।

उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

अब पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबिच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *