हेटौंडा । हेटौंडाको होटल सामना सभाहलमा सञ्चालन भइरहेको २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत तेस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन् । जसमा एफएम रुपेश जैसवालले ४.५ अंक बनाउदै स्पष्ट १ अंकको अग्रता कायम गरेका छन् । 

मंगलबार सम्पन्न भएको खेलमा रौतहटका रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका छन् । राजनले रुपेश विरुद्ध २३औं चालमा रुक सि सेभेन गलत मुभ चाल्दा बि सिक्स पाउन गुमाउन पुगेका थिए । लगत्तै ए सेभेन पाउन पनि त्याग्नु पर्दा खेल रुपेशको पक्षमा गएको थियो । 

राष्ट्रिय चेस प्रतिस्पर्धामा मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहालले समान ३.५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगट्न सफल भएका छन् । खेलमा एफएम क्षितिजले काठमाडौंका सिएम नवीन तण्डुकारलाई हराए भने सिएम शुश्रुतले भक्तपुरका विनय थापा माथि जीत निकाले ।

स्पर्धामा अन्य तिन जना खेलाडी समान ३ अंकका साथ संयुक्त तेस्रो स्थानमा उभिएका छन् । यसमा दोलखाका आशिष् फूँयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी खेलमा टिकि रहेका छन् ।

यसैगरी १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौ खेल सम्पन्न हुदा वर्तमान नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंक जोडेर स्पष्ट अग्रता बनाएकी छिन् । राष्ट्रिय महिला विजेता सिन्दिरा जोशीले चार जीत र एक खेल बराबर खेल्दै अपराजित रहन सफल भएकी छिन् । 

प्रतियोगितामा पहिलो हार व्यहोरेका एञ्जल महर्जन ४ अंक मै सिमित बन्दै दोश्रो स्थानमा रहेकी छिन् । काठमाडौंका एञ्जलले क्रमश: ४ जीत र एक खेलमा हार आत्मसाथ गरेकी हुन् । उनी सँगै काठमाडौं कै बिनिता कपाली ४ अंक बनाई संयुक्त दोश्रो स्थानमा रहन सफल भएकी छिन् । बिनिताले ४ खेलमा जीत प्राप्त गरेकी छिन् । 

यस्तै बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमाल समान ३.५ अंक छुदै संयुक्त तेस्रो स्थानमा सम्भावना जगाएका छन् । दुवै खेलाडीले समान ३ जीत र एकमा बराबर खेले ।

यसैबीच नेपाल बुद्धिचाल महासंघका सल्लाहकार बाग्मती प्रदेश सांसद मा. रामकृष्ण चित्रकारले बुद्धिचाल महासंघको खेल सक्रियता प्रति सन्तुष्ट ब्यक्त गरेका छन् । मा. चित्रकारले बाँकी रहेका ६ चरणको खेल प्रतिस्पर्धा मार्फत राष्ट्रले नयाँ च्याम्पियन प्राप्त गर्ने बताए । 

नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका थप दुई चरणको खेल बुधबार बिहान ९ बजे र दिउँसो ३ बजे हुनेछ भने प्रतियोगिता १९ गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *