हेटौंडा । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेश्रो चरण सम्पन्न हुदा एफएम रुपेश जैसवालले अग्रता कायम गरेका छन् ।
यससँगै पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालले पूर्ण ३ अंक जोडेर राष्ट्रिय च्याम्पियनको पुनः दावी पेश गरेका छन् । रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई क्रमशः पराजित गर्न सफल भएका छन् ।
यसैगरी दोलखाका आशिष फूँयालले पनि अपराजित २.५ अंक बनाउदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । दोश्रो स्थानका १९८१ रेटेड खेलाडी आशिषले काठमाडौंका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराए भने २०४५ रेटेड पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका छन् ।
स्पर्धामा काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी, धैर्यवान खेलाडी प्रेमकृष्ण महर्जन दुवैले समान २-२ अंक प्राप्त गर्दै संयुक्त तेश्रो स्थान ओगटेका छन् ।
यस्तै झापाका शुश्रुत दहाल, वर्तमान नेपाल च्याम्पियन १९८२ रेटेड राजन सुवेदी र काठमाडौंका सिएम नवीन तण्डुकारले समान १.५ अंक हासिल गरेका छन् । क्रमशः सुनसरीका १८७८ रेटेड धिरेन राई, युवा पुरुषोत्तम सिलवाल, सुरोज महर्जन, रिजेन्द्र राजभण्डारी १ अंकको खाता खोलेका छन् । विनय थापा भने अंक बिहिन छन् ।
नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय स्पर्धाका शीर्ष ३ जना र राष्ट्रिय प्रतियोगिता बीबाट ९ जना खेलाडी छनौट गरि १२ जनाबीच ११ चरणको राउण्ड रोविन सिनियर राष्ट्रिय प्रतियोगिता गरेको हो । यसमा महिला विधातर्फ काठमाडौंका सिन्दारा जोशी र ललितपुरका एञ्जल महर्जनले सबै खेल जितेर संयुक्त अग्रस्थान हासिल गरेका छन् ।
वर्तमान वोमन नेशनल च्याम्पियन सिन्दिराले काठमाडौंका निहाना श्रेष्ठ, रुकुमका नयुमा मगर र चितवनका लक्ष्मी कँडेलमाथि जीत दर्ता गरेकी छिन् । एञ्जलले ओलम्पियाड खेलाडी शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई हराएकी हुन् ।
यस्तै झापाका पुनम प्रसाईं, ताप्लेजुङका शुशिला गुरुङ, मोरङका शान्ति धिमाल, बाँकेका इशा गिरि, झापाका कृतिसारा अधिकारी र काठमाडौंका बिनिता कपाली सबैले समान २-२ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगटेका छन् ।

यसैबीच आज हेटौंडास्थित होटल सामनाको सभाहलमा बाग्मती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री मा. प्रेमभक्त महर्जनले प्रतियोगिताको उदघाटन गरेका छन् । खेलपूर्व उद्घाटन समारोहमा मन्तब्य ब्यक्त गर्दै मा. मन्त्रीले बाग्मती प्रदेश सरकार खेलकुद प्रति उदार रहेको अवगत गराएका छन् ।
उनीसँगै महासंघका सल्लाहकार संयोजक एवं पूर्वमन्त्री मा. एकालाल श्रेष्ठले संयुक्त उद्घाटन पश्चात् चेस खेलको बृहत्तर बिकास प्रति गौरव गर्ने ठाउँ धेरै भएको बताएका छन् । बाग्मती प्रदेश सांसद मा. रघुनाथ महर्जन नागरिकले खेलमा लागिरहन वातावरण निर्माण गर्ने मन्तब्यसहित शुभकामना दिए ।
महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा भएको कार्यक्रम महासचिव धरम बहादुर लामाले सञ्चालन गरेका थिए । राष्ट्रिय खेल कार्यक्रममा सह-महासचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, केन्द्रीय रमिला पोखरेल, प्रमुख निर्णायक आईए यज्ञप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो ।
