नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीबाट खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) र नेपाल पुलिस क्लबलाई जय ट्रफीको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका राजवंशीलाई अर्जुन ट्रफीका लागि डीसीए धनगढीले अनुबन्ध गरेको हो । ललितले एनपीएलमा १७ र जय ट्रफीमा २३ विकेट लिएका थिए ।

गो ड्रिमर्सको आयोजनामा प्रतियोगिता माघ १९ देखि २८ सम्म हुँदैछ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा डिसिएका प्रमुख खेलाडीको रुपमा रहेका ललितले डडेल्धुराको फेन्ड्स क्लबका प्रमुख खेलाडीहरु कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोराविरुद्ध मैदान उत्रिएर प्रतियोगिताको सुरुवात गर्नेछन् ।

धनगढीले माघ २० गते घोडाघोडी-११ सुख्खडसँग खेल्नेछ भने माघ २२ गते बोष्टन क्रिकेट झापासँग खेल्नेछ ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

रनिङ ट्रफीको रुपमा टी-२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरुको सहभागिता रहेको छ । सबै टोलीहरूले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् ।

‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने ‘बी’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु- १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । ‘सी’ क्याटोगोरीमा यु- १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु-१९ र यु-१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *