जनकपुर नाइट्स लिग चरणमा अपराजित रहदै नेपाल कबड्डी लिग (एनकेएल) को क्वालिफायरमा पुग्ने पहिलो टोली बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा काठमान्डु माभरिक्ससँग ३९-३९ को बराबरीमा रोकिँदै जनकपुरले पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।
जारी प्रतियोगिताको यो पहिलो बराबरी हो । बराबरीसँगै दुवै टोलीले समान तीन अंक जोडे ।
जनकपुरले पाँच खेलबाट चार जित र एक बराबरीसहित २३ अंक बनायो । काठमाडौं भने पहिलो क्वालिफायरमा स्थान बनाउन विराटनगर नाइट्सको नतिजामा भर पर्नुपर्ने छ ।
विराटनगरले शनिबार पोखरा लेकर्ससँग प्रतिस्पर्धा गर्नेछ । काठमान्डौंको १९ र विराटनगरको १६ अंक छ ।
