आइसिसी यु-१९ विश्वकप अन्तर्गत प्लेअफमा नेपालले घरेलु मलेसियासँग पहिला फिल्डिङ गर्ने भएको छ ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालकी कप्तान पूजा महतोले टस जितेर फिल्डिङको लिएकी हुन् ।
यसअघि समुह चरणमा बाहिरिएका नेपाल र आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन् ।
दुवै टोली जितका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छन् । नेपाल समूह ‘डी’ तथा मलेसिया समूह ‘ए’ को चौथो स्थानमा रहेका थिए ।
नेपालले समूह चरणमा स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । तीनवटै खेलमा पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेन । उता, मलेसिया भने तीनवटा टेस्ट राष्ट्र भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित हुँदै सुपर सिक्समा पुग्न सकेन ।
नेपाली यु-१९ टोलीमा बुधवार अस्ट्रेलियाविरुद्ध खेलेको टोलीमा २ परिवर्तन भएको छ । बुधवार खेलेकी त्रिसना विक र अनु कडायतको स्थानमा कुशुम गोदार र स्नेहा महराले मौका पाएका छन् ।
नेपालको प्लेइङ-११
पूजा महतो (कप्तान), कृष्मा गुरुङ, कुशुम गोदार, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र स्नेहा महरा ।
