प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिता २८१ अन्तर्गत सुपर फोरको आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

बिहीबार भएको सुपर फोरको दोश्रो खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई १४ रनले पराजित गरेको हो ।

जितका लागि आर्मीले दिएको १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २० ओभरमा ६ विकेट गुमाउँदै ९६ रनमा समेटियो । सुदूरपश्चिमका लागि मनिषा बोहराले सर्वाधिक १८ र कविता कुँवरले १६ रन जोडिन् । बलिङमा आर्मीका लागि सुस्मिता भुसालले ३ तथा सिता शाही र लक्ष्मी साउदले १-१ विकेट लिइन् ।

त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११० रनको योगफल तयार पारेको थियो । आर्मीका लागि सम्झना खड्काले अविजित ७४ रनको योगदान दिइन् ।

बलिङमा सुदूरपश्चिमका लागि जानकी थापाले २ तथा आशिका महरा र रेवती धामीले १-१ विकेट लिएकी थिइन् ।

आर्मीकी सम्झना खड्का खेलको प्लेयर अफ द म्याच घोषित भइन् । सुपर फोरको अन्तिम खेलमा आर्मीले एपिएफ र सुदूरपश्चिमले बागमतीको सामना गर्नेछन् ।

सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *