चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजारभन्दा बढीको सहभागिता रहने भएको छ ।

प्रतियोगिताको तयारीबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल भेटेरिनरी संघका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक शीतलकाजी श्रेष्ठले शनिबार हुने हाफ म्याराथनमा ८ हजारभन्दा बढीको सहभागिता रहने जानकारी दिएका हुन् ।

पुरुष/महिलाको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुनेछ ।

सबै स्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिने छ । सहभागिता र पुरस्कार राशिका हिसाबमा यो प्रतियोगिता नेपालकै सबैभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक श्रेष्ठले बताए । प्रतियोगिताको कुल पुरस्कार राशि करिब १८ लाख रुपैयाँ रहेको छ । गत संस्करणको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए ।

आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

१० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । महिलामा पाँच किलोटमिटरतर्फ शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौँले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियरतर्फ महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब पाँच सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *