विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।

मंगलबार भएको दिनको पहिलो खेलमा कोशी प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मी सुपर फोरमा प्रवेश गरेको हो । आर्मी समूह ‘बी’ बाट सुपर फोरमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

जितका लागि कोशीले दिएको ३७ रनको लक्ष्य आर्मीले अन्तिम ओभरको ४ बल बाँकी रहँदा १ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सम्झाना खड्काले अविजित रहँदै ३२ रन जोडिन् ।

त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित ७ ओभरमा पाँच विकेट गुमाउँदै ३६ रनको योगफल तयार पारेको थियो । खराब मौसमका कारण निर्धारित समय भन्दा ढिला गरि शुरु भएको खेल ७ ओभरमा झारिएको थियो ।

कोशीका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि मनिषा चौधरीले ३ र सुश्मिता भुसालले २ विकेट लिएकी थिइन् ।

जितसँगै आर्मीको ३ खेलबाट ४ अंक भएको छ । रनरेटमा पछि परेका कारण दोस्रो स्थानमा रहेको कोशीले सुपर फोरमा प्रवेश पाउँन दोस्रो खेलको नतिजा कुर्नुपर्ने छ ।

दोस्रो खेलमा बागमती प्रदेश र मधेश प्रदेश खेल्दै छन् । यस खेलमा बागमतीले मधेशमाथि फराकिलो जित निकालेमा कोशीको सुपर फोर सम्भावना सकिनेछ । बागमतीले मधेशलाई सामान्य अन्तरमा हराए वा मधेशले खेल जितेमा कोशी सुपर फोरमा पुग्नेछ ।

प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम छन् । समूह ‘बी’ मा कोशी , मधेश , बागमती, त्रिभुवन आर्मी क्लब छन् । दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।

सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । दुवै समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *