ऋषभ पन्त लखनऊ सुपर जाइन्ट्स (एलएसजी) को कप्तानमा नियुक्त भएका छन् ।

एलएसजीले नोभेम्बर २०२४ को अक्सनमा पन्तलाई २७ करोड भारुमा किनेको थियो । योसँगै पन्त आइपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

पन्त एलएसजीको दोस्रो कप्तान हुन् । यसअघि केएल राहुलले सन् २०२२, २०२३ र २०२४ मा एलएसजीको नेतृत्व गरेका थिए । टोलीले पहिलो दुई वर्षमा प्लेअफमा स्थान बनाए पनि फाइनलमा पुग्न सकेन ।

सन् २०२४ को सिजनमा भने क्लबको प्रदर्शन धेरै खराब थियो । टोली ७ औं स्थानमा सीमित रह्यो र एक खेलको क्रममा कप्तान राहुल र टोलीका मालिक सञ्जीव गोयन्काबीच टिभीमा गम्भीर विवाद भएको देखियो । यसपछि राहुल अक्सनतर्फ लागे, जहाँ उनलाई पन्तको पुरानो टोली दिल्ली क्यापिटल्स (डिसी) ले किनेको थियो ।

पन्तले यसअघि तीन सिजन (२०२१, २०२२ र २०२४) मा दिल्ली क्यापिटल्सको नेतृत्व गरिसकेका छन् । उनको कप्तानीमा टोली सन् २०२१ प्लेअफमा पुगेको थियो । उनी कार दुर्घटनापछि २०२३ को सिजनबाट बाहिरिएका थिए । कप्तानीका कारण पन्तले डिसी छाड्ने निर्णय गरेका थिए । किनभने डिसीले उनलाई राख्न चाहन्थे तर कप्तानी दिन चाहेका थिएनन् ।

एलएसजीले निकोलस पुरन, आयुष बडोनी, मोहसिन खान, रवि बिश्नोई र मयंक यादव गरी पाँच खेलाडीलाई रिटेन गरेको थियो । त्यसपछि उनीहरुले अक्सनमा डेभिड मिलर, मिचेल मार्स र एडेन मार्करामजस्ता विदेशी खेलाडी किने ।

पुरनसँगै यी तीन खेलाडी पनि कप्तानको विकल्प थिए । तर, अन्ततः फ्रेन्चाइजले पन्तसँग जाने निर्णय गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *