एन्फा महिला लिगको क्वालिफायर-१ मा स्थान बनाइसकेको एपिएफले अपराजित रहँदै अन्तिम चरणको अन्त्य गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न विभागीय डर्बीमा एपिएफले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै ‘लिग डबल’ गरेको हो । पहिलो लेगमा एपिएफले यही टोलीमाथि आधा दर्जन गोल गरेको थियो ।
एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङ र अनिता केसीले गोल गरे । यी दुबै गोल सविता रानमगरको पासमा भएको थियो । खेलको प्लयेर अफ दि म्याच पनि सविता घोषित भइन् ।
योसँगै शीर्ष स्थानको एपिएफले सात खेलबाट २१ अंक पुर्यायो । अब एपिएफले सिधै फाइनलमा पुग्न त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
पुलिस भने सात खेलबाट ११ अंकसहित तेस्रो स्थानमा रह्यो । पुलिसले दोस्रो क्वालिफायरमा स्थान बनाउन बागमती युथ क्लबसँग खेल्ने छ ।
खेलको १७औं मिनेटमा रश्मीले एपिएफलाई सुरुआती अग्रता दिलाएकी थिइन् । रश्मीको जारी प्रतियोगितामा यो ३२औं गोल हो । ६४औं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई २-० को सहज जित दिलाइन् ।
