एन्फा महिला लिगको अन्तिम चरणमा आज विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
अन्तिम चरण सुरु हुनुअघिदेखि नै बहुप्रतिक्षित रुपमा लिइए पनि यो खेल प्रतियोगिता यात्रामा दुुवै टोलीका लागि औपचारिकता मात्र हुनेछ । किनभने यो खेलको नतिजाले अंकतालिकामा कुनै पनि फरक पार्नेछैन । दुबैले प्लेअफमा स्थान बनाइसकेका छन् ।
पछिल्ला ६ खेलमा स्पष्ट १८ अंक जोडेको एपिएफले क्वालिफायर १ मा स्थान बनाइसकेको छ । पुलिसले पनि इलिमिनेटर खेल्ने पक्का भइसकेको छ ।
पुलिसलाई यो विभागीय डर्बीमा गोलको खडेरी तोड्ने दबाब छ । विभागीय डर्बी अर्थात् प्रतिष्ठाको लडाई पुलिससामू बदला लिनुपर्ने दबाब पनि हुनेछ । अन्तिम चरणको पहिलो लेगमा पुलिसले ६–० को फराकिलो हार बेहोरेको थियो ।
यो हार पुलिसले विर्सेको छैन । आज पुलिसलाई कम्तिमा पनि एपिएफलाई जित्न नदिने चुनौती हुनेछ । तर, पुलिसको अवस्था नाजुक छ । दुई खेलयता पुलिसले विपक्षी पोस्टमा गोल गर्न सकेको छैन ।
पुलिसका फरवार्डले राम्रो अवसर सिर्जना गर्न सकेका छैनन् । पछिल्लो खेलमा पुलिसले तुलनात्मक रुपमा कमजोर बागमतीविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।
