यहि माघ १९ गतेदेखि सुरु हुने २५औं बुढासुब्बा गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।
आइतबार आयोजक धरान फुटबल क्लबले सामाजिक सञ्जालमार्फत खेल तालिका सार्वजनिक गरेको हो ।
खेलतालिका अनुसार उद्घाटन खेलमा शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा गर्ने छ ।
माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा कुल आठ टोली सहभागि हुनेछन् । प्रतियोगितामा आयोजक धरान फुटबल क्लब, चर्च ब्वाइज र पुलिससँगै इटहरीको राजा क्लब, भुटानको आरटिसी फुटबल क्लब, भारतको यु.के. फुटबल क्लब, काठमाडौं न्युरोड टिम(एनआरटी) क्लब र झापाको काँकडभित्ता ट्रेनिङ सेन्टरले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिता धरान उपमहानगरपालिका वडा नं १६ स्थित धरान रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उप-विजेताले ५ लाख रुपैयाँ पुरस्कारसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउने छ । प्रत्येक खेलको म्यान अफ दी म्याच हुनेले १५ हजार र सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।
२४औँ बुढासुब्बा गोल्डकपको विजेता एनआरटी क्लव काठमाडौँ र उपविजेता जिल्ला फुटबल संघ मोरङ रहेको थियो ।
