मलेसियामा आजदेखि आइसिसी महिला यु-१९ बिश्वकप सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा बंंगलादेशको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शुरु हुनेछ ।
नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालको यो ग्लोबल इभेन्टमा पहिलो सहभागिता हो ।
गतबर्षको नोभेम्बरमा युएईमा भएको विश्वकपका लागि एसियाली छनोटमा युएईलाई फाइनलमा पराजित गर्दै नेपालले विश्वकपको यात्रा तय गर्न सफल भएको हो ।
नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा बंगलादेशसँग पराजित भएको नेपाल आज खेल जित्दै सुपर सिक्समा पुग्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।
विश्व कपमा १६ राष्ट्रको सहभागिता छ । नेपाल समुह ‘डी’ मा रहेको छ । समुह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् ।
नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ। त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।
विश्वकपका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसिया पुगेको छ ।
नेपाली टोली:
पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा, अनु कडायत ।
