मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित नगर खेलकुद विकास समितिको आयोजनामा उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता वैशाख २७ मा उद्घाटन भएर २९ गते समापन हुने आयोजकले जानकारी गराएको छ ।
अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबलमा ८ वटा टिमको सहभागिता रहने र प्रतियोगिताका लागि तीन लाख खर्च हुने आयोजक समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा लेटाङ, सुन्दरहरैंचा, पथरी, बुढीगंगा, रतुवामाई, कानेपोखरी, बेलबारी, केराबारी, लगायतका पालिकाका टिमहरूले सहभागिता जनाउने जनाइएको छ ।
सुकुना माविको खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार र दोस्रो हुनेले २५ हजार पुरस्कार पाउने छन । साथै उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका सदस्य तथा तुगर प्रवक्ता रोनशप्रसाद ढकालले जानकारी दिए ।
