ललितपुर । विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार एन्फा यु-१६ युथ लिगमा पुनरागमन जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा पुलिसले मच्छिन्द्र फुटबल क्लबमाथि २–१ गोलको पुनरागमन जित निकालेको हो ।

पुलिसलाई विजयी गराउन समीर राई र नसीब हेन्जनले गोल गरे । मछिन्द्रका लागि सौगातकुमार बोम्जनले गोल गरे ।

खेलमा अग्रता भने २४औं मिनेटमा सौगातको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा लय गुमाउँदा मछिन्द्र हार भोग्न बाध्य भयो ।

४८औं मिनेटमा समिरले पुलिसका लागि बराबरी गोल फर्काए । ५८ औं मिनेटमा नसीबले गोल गरेपछि पुलिसले अग्रता २–१ बनायो । त्यसपछि थप गोल नहुँदा पुलिस अन्ततः २–१ को नतिजा निकाल्न सफल भयो ।

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा विशाल सिंहले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै पुलिसले तीन खेलमा सात अंक जोडेको छ । पहिलो पराजय बेहोरेको मछिन्द्रको समान खेलबाट ६ अंक छ ।

यस्तै लिगअन्तर्गत सोमबार सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले संकटा क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको २८ औं मिनेटमा उत्सव थापाको गोलबाट एपीएफले अग्रता लिएको थियो । तर, ७० औं मिनेटमा पेम्बा तामाङले संकटाका लागि बराबरी गोल फर्काए । त्यसपछि बाँकी २० मिनेटमा दुवै टिमबाट गोल नभएपछि दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।

बराबरीसँगै एपिएफले चार खेलमा आठ अंक जोडेको छ भने समान खेल खेलेको संकटाले पाँच अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *