ललितपुर । नेपाल सम्बत् न्हूदँ समारोह समिति ११४७ को एक साताव्यापी कार्यक्रम अन्तर्गत ललितपुरमा सोमबार पाँचौ नेपालभाषा खुल्ला १० किमि दौड प्रतियोगिता सम्पन्न भएको छ ।
ललितपुर जिल्ला क्षेत्र नं. एकका सांसद बुद्ध रत्न महर्जन र किर्तिमानी धावक बैकुण्ठ मानान्धरले संयुक्त रुपमा उदघाटन गरेको खुल्ला दौड प्रतियोगितामा ६९ जना राष्ट्रिय धावकहरु सहभागी थिए ।
पहिलो, दोश्रो र तेस्रो दक्षिण एशियाली म्याराथन दौड प्रतियोगितामा लगातार तिन स्वर्ण पदक विजेता एवं सर्वकालीन दक्षिण एशियायी रेकर्ड होल्डर प्रख्यात धावक बैकुण्ठ मानान्धरको प्रमुख आतिथ्यतामा विजयी खेलाडीलाई पुरस्कार वितरण गरेको छ ।
नेपाल सम्बत् ११४७ को शुभ अवसरमा नेपालभाषा मंकाः खलः यलको संयोजनमा आयोजना गरेको १० किमि प्रतिस्पर्धा खुल्ला तर्फ दिपक बुढाथोकी ३५ मिनेट ११ सेकेन्ड समय निकाल्दै दौड पूरा गरि प्रथम हुन सफल भएका छन् ।
पाँचौ मंकाः खलः १० किमि दौड प्रतिस्पर्धामा अजय पाण्डे क्षेत्री ३७ मिनेट ४० सेकेन्ड समय सँगै द्वितीय , रामचन्द्र श्रेष्ठ ४१ मिनेट ४१ सेकेन्डमा तृतीय स्थान ओगट्न सफल भएका छन् ।
यसैगरी स्थानीय तर्फ ललितपुरका राकेश महर्जन ४२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरि प्रथम, दिनेश महर्जन ४४ मिनेट ४२ सेकेन्डमा द्वितीय र सुजित महर्जन ४४ मिनेट ५६ सेकेन्ड समय निकाल्दै तृतीय स्थान प्राप्त गर्न सफल रहे ।
दौड स्पर्धामा प्रथमले नगद १० हजार, द्वितीयले ७ हजार र तृतीयले ४ हजार तथा उत्कृष्ट महिला तर्फ स्मारिका शर्माले ४५ मिनेट ३७ सेकेन्ड समय निकाल्दै ४ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
यसैबीच मंकाः खलःको सभाहलमा सम्पन्न पुरस्कार वितरण समारोहमा सभापति अध्यक्ष महेन्द्रलाल महर्जन साताव्यापी कार्यक्रम अन्तर्गत पाँचौ संस्करणको दौड प्रतियोगिता आम खेलकर्मीहरुको रुचि बढेको बताए ।
कार्यक्रममा सचिव राजु ताम्राकारले नेपालभाषा बोलिचालि र लेखनमा प्रयोग गर्न सबै नेपालभाषी परिवारमा अपील गरेका छन् ।
दौडका संयोजक रबिन्द्र बाराहीले २४ गते बिहान ७ बजे न्हूदँ समारोह ११४७ शुभकामना कार्यक्रम तथा राजेन्द्र महर्जनले ३० किमि भिन्तुना साइकल र्यालीमा सहभागी हुन अनुरोध गरेका थिए ।
