काठमाडौंमा आगामी नोभेम्बर २१ देखि २३ (मंसिर ६ देखि ८) गतेसम्म चार राष्ट्र सम्मिलित ‘फोर नेसन्स कप कबड्डी च्याम्पियनसिप–२०२६’ आयोजना हुने भएको छ ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, थाइल्यान्ड र बंगलादेशका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन समारोह नोभेम्बर २१ तारिख दिउँसो १ बजे हुनेछ भने सोही दिन दिउँसो २ बजेदेखि लिग चरणका खेल सुरु हुनेछन् । उद्घाटन खेलमा नेपालले थाइल्यान्डको सामना गर्नेछ । दोस्रो खेलमा भारत र बंगलादेश भिड्नेछन् । नोभेम्बर २२ मा भारत र नेपालबीच दिउँसो २ बजे खेल हुनेछ ।

त्यस्तै, दिउँसो ३ बजे थाइल्यान्ड र बंगलादेश, ४ बजे भारत र थाइल्यान्ड तथा ५ बजे बंगलादेश र नेपालबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अन्तिम दिन नोभेम्बर २३ मा लिग चरणबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीबीच उपाधिका लागि फाइनल खेल हुनेछ ।

राउन्ड रोबिन प्रणालीमा प्रतियोगिता

प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ । जसअनुसार प्रत्येक टोलीले अन्य तीन टोलीसँग एक–एक खेल खेल्नेछ । लिग चरणमा सबै टोलीले तीन खेल खेल्नेछन् । खेलमा जित हात पार्ने टोलीले दुई अंक, बराबरी गर्ने टोलीले एक अंक र पराजित हुने टोलीले शून्य अंक प्राप्त गर्नेछन् । लिग चरणको अंक तालिकामा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछन् । अखिल नेपाल कबड्डी संघका सहायक प्राविधिक निर्देशक तारका राज भट्ट र प्राविधिक निर्देशक रवि सेट्टीले प्रतियोगितासम्बन्धी जानकारी दिएका छन् । यस प्रतियोगिताले नेपालमा कबड्डी खेलको विकास, अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक अनुभव र चार राष्ट्रबीच खेलकुद सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *