पोखरामा मंसिर ९ देखि १५ गतेसम्म सञ्चालन हुने ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा उपाधिका लागि देशका ६ उत्कृष्ट टोलीबिच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए । जसमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र नेपाल एपीएफ क्लब (सशस्त्र प्रहरी बल) सहित गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ र आयोजक किङ्स पोखरा भलिबल क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।

प्रतियोगिताका सबै खेल हेर्नका लागि सिजनल प्रवेश शुल्क २ हजार ५०० रुपैयाँको निर्धारण गरिएको गुरुङले बताए । सात दिनसम्म चल्ने प्रतियोगिता सञ्चालनका लागि ६० लाख ९५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *