सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एपीएफले पहिलो संस्करणको उपाधि आफ्नो नाममा पारेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । अतिरिक्त समयको ३०औँ मिनेटमा अनिता केसीले अर्को गोल थपेपछि एपीएफको जित निश्चित भएको थियो ।
उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस क्लबले तीन लाख रुपैयाँ पाएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए ।
ब्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडी :
फाईनल वुमन अफ दि म्याच : रश्मि घिसिङ , एपिएफ
बेष्ट गोलकिपर : अन्जिला तुम्बाम्पो सुब्बा, एपिएफ
बेस्ट डिफेन्डर : पुजा राना, नेपाल पुलिस
बेस्ट मिडफिल्डर :रेनुका नगरकोटी, एपिएफ
बेस्ट फरवर्ड : पुर्णिामा राई, एपिएफ
हाई स्कोरर : रेखा पौडेल (डबल ह्याट्रिकसहित ८ गोल), नेपाल पुलिस
बेस्ट कोच : जिवेश कुमार पाण्डे, एपिएफ
डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा कात्तिक २८ गतेदेखि धरान रङ्गशालामा प्रतियोगिता सञ्चालन भएको थियो । रात्रिकालीन रूपमा आयोजना गरिएको प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोली सहभागी थिए ।
