धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकालीन महिला अन्तर्राष्ट्रिय क्लब गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै बिहीबार आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो ।

डी–१९ क्लब धरान–१९ तथा स्वर्णिम फुटबल क्लबको आयोजनामा हुन लागेको ‘प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप–२०८३’ कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुनेछन। प्रतियोगिताका सबै खेल रात्रिकालीन रूपमा सञ्चालन गर्न रङ्गशालामा अस्थायी फ्लडलाइट जडान गरिने आयोजकले जनाएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ईभी स्कुटरको चाबीसमेत हस्तान्तरण गरिएको छन। उक्त स्कुटर धरान–१९ निवासी सम्झना खालिङले आफ्ना दिवङ्गत बुवाको स्मृतिमा प्रायोजन गरेकी हुन् । त्यसैगरी, नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पदम ईस्वोले आफ्ना दिवङ्गत आमाबुवाको स्मृतिमा प्रतियोगिताको ट्रफी हस्तान्तरण गरेका हुन् । ट्रफीमा धरानका विभिन्न पहिचान झल्किने दृश्यहरू समेटिएको ईस्वोले जानकारी दिए ।

क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईका अनुसार धरानमा यसअघि अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप आयोजना हुँदै आए पनि महिला फुटबलको अन्तर्राष्ट्रिय क्लबस्तरीय प्रतियोगिता रात्रिकालीन रूपमा पहिलो पटक आयोजना गर्न लागिएको हो । यसअघि धरानमा गोधुली अन्तरवडा फुटबल प्रतियोगिता एक पटक रात्रिकालीन रूपमा सञ्चालन गरिएको थियो ।

क्लबका सचिव उमेश जिमीले महिला फुटबलको व्यावसायिक विकास गर्नुका साथै स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगितामा भारतको आक्वा फुटबल क्लब झारखण्डसहित नेपालका विभागीय तथा अन्य क्लब गरी आठ टोली सहभागी हुने आयोजकले जनाएको छ। सहभागी टोलीमा एपीएफ, नेपाली आर्मी, नेपाल पुलिस क्लब, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, आक्वा फुटबल क्लब झारखण्ड र आयोजक स्वर्णिम फुटबल क्लब धरान रहेका छन् ।

कात्तिक २८ गते हुने उद्घाटन खेलमा भारतको आक्वा फुटबल क्लब झारखण्ड र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा राष्ट्रियस्तरका महिला खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ । प्रतियोगिताभर उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *