सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबार रंगशालाको उद्घाटन एवम हस्तान्तरण गरिएको छ । प्रतिस्पर्धा मंगलबारदेखि हुनेछ ।

प्रतियोगिताको औपचारिक उद्घाटन हुनुभन्दा आठ दिनअघि नै विभिन्न ६ खेलका प्रतिस्पर्धा सुरु हुन लागेका हुन् । खेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित खेलाडीहरू बन्द प्रशिक्षणमा जुटिरहेका छन् । सीमित स्रोतसाधन र पूर्वाधारबीच पनि उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा रहेका खेलाडीले यसपटक दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेका छन् ।

राष्ट्रियस्तरका प्रतिस्पर्धीलाई चुनौती दिन शारीरिक अभ्याससँगै खेल कौशल निखार्न व्यस्त खेलाडीहरू प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गर्ने अवसरको प्रतीक्षामा छन् ।

तर, आवश्यक खेल सामग्री, प्रशिक्षण र पूर्वाधारको अभावले तयारी सहज भने नभएको उनीहरूको अनुभव छ ।

मंगलबारदेखि सुरु हुने खेलहरूको व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको आयोजकले जनाएको छ । सुर्खेतको कर्णाली प्रदेश रङ्गशालासहित बाँके र बर्दियामा पनि केही खेल सञ्चालन हुनेछन् ।

बाँकेको नेपालगञ्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता सञ्चालन हुनेछ। सुर्खेतमा फुटबल, महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबललगायत खेलका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका खेलहरू चरणबद्ध रूपमा सञ्चालन गर्दै लगिने आयोजकको तयारी छ ।

दशौं राष्ट्रिय खेलकुदका कुल ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुँदैछन् । तीमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । कर्णालीका दैलेख, कालीकोट, सल्यान र पश्चिम रुकुम तथा लुम्बिनीका बाँके र बर्दियामा पनि खेल सञ्चालन गरिनेछ ।

आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनअघि नै सुरु हुने खेलका प्रतिस्पर्धा त्यसअघि नै सम्पन्न हुने गरी तालिका बनाइएको छ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए)गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन् ।

३८४ इभेन्ट्समा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *