केभिआर समीट च्यालेन्जको नयाँ संस्करणमा शनिबार पुरुषतर्फ फ्रान्सका इमानुएल गौहर र महिलातर्फ अमेरकाकी केल्सी रेक्स पहिलो भएका छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता इमानुअलले सबभन्दा चाँडै तीन घन्टा १५ मिनेटमा दौड पूरा गरे । क्यानाडाका ब्रायन रोवन्सन तीन घन्थटा ३० मिनेट समय लगातार दोस्रो र नेपालका दावा शेर्पा तीन घन्टा ३५ मिनेट समय लगाएर तेस्रो स्थानमा रहे ।
महिलातर्फ रेक्सले तीन घन्टा ३२ मिनेट समय लगाइन्। नेपालकी छरङ शेर्पा चार घन्टा तीन मिनेट र अमरिकाकी सोन्या मार्टिन चार घन्टा १३ मिनेसहित दोस्रो र तेस्रो भए ।
१० किलोमिटर दौडमा पुरुषतर्फ शीर्ष तीन स्थान अमेरिकी धावकहरुले प्राप्त गरे । कोल्टन विथरेलले (१ः२०.४५ सकेन्ड) पहिलो, क्रिस्टियन ब्रान्डले (१ः२७.०० सकेन्ड) दोस्रो र विल्बर्ट भगले (१ः३८.०० सकेन्ड) तेस्रो स्थान बनाए ।
१० किलोमिटर महिलातर्फ बेलायतकी इमिली भ्रेनले १ घन्टा २३ मिनेट ४० सकेन्ड समयसहित सबैभन्दा चाँडै दौड पूरा गरे । फ्रान्सकी गौसर पिउरियरले १ः२६.४० र अमेरिकाकी म्याडी उट्लीले १ः२८.०० सकेन्ड समय लगाएर तेस्रो स्थान बनाइन् ।
२५ किमीको दौड सुर्यचौरबाट सुरु भएर गुर्जे भञ्ज्याङ, शिवपुरी पिक, डाँडा गाउँ, गुर्जे भञ्ज्याङ हुँदै पुन सुर्यचौरमा पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगितामा नेपाली र विदेशीगरी २५ किमीमा ३३ र १० किमीमा १८ धावकधाविकाले सहभागिता जनाएका थिए ।
नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले समापन समारोहमा विजेताहरुलाई पुरस्कार प्रदान गरे ।
