विराटनगर । विजया दशमीको अवसरमा सिद्धार्थ स्पोर्टिङ क्लब, विराटनगर-९ ले ‘दशैं कप २०८३ इन्डोर क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । विराटनगरस्थित भीआईपी रोडमा रहेको जेनियल फुटसलमा असोज २७ र २८ गते प्रतियोगिता सञ्चालन हुनेछ ।

क्लबले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधि अफताब अलिले प्रतियोगिताको तयारीबारे जानकारी दिएका हुन् । युवालाई खेलकुदमा सक्रिय बनाउँदै आपसी सद्भाव, भाइचारा र खेल भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका लागि प्रत्येक टोलीको प्रवेश शुल्क चार हजार एक सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद २१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई नगद ११ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सहभागी टोलीको प्रवेश शुल्क, स्थानीय संघसंस्था, व्यावसायिक प्रतिष्ठान तथा प्रायोजकको सहयोगबाट खर्च व्यवस्थापन गरिने अलिले जानकारी दिए ।

दशैंको उत्साहलाई खेलकुदसँग जोड्दै युवालाई रचनात्मक र सकारात्मक गतिविधिमा सहभागी गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनले बताए । स्थानीय क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलाडीबीच अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिताले सहयोग पुऱ्याउने आयोजकको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *