नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई पुनः प्रशिक्षकमा निरन्तरता दिएको छ । यससँगै प्रसादले आगामी सिजनमा पनि विराटनगर किंग्सको प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्नेछन् ।

श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले आफ्नो खेलाडी जीवनमा श्रीलंकाको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । दायाँ हाते फास्ट बलर प्रसादले श्रीलंकाका लागि २५ टेस्ट, २४ ओडीआई र १४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

प्रशिक्षकका रूपमा धम्मिका प्रसादले विभिन्न अन्तर्राष्ट्रिय टोलीसँग काम गरिसकेका छन् । उनले अमेरिका राष्ट्रिय क्रिकेट टोलीमा सहायक तथा बलिङ प्रशिक्षकका रूपमा काम गर्नुका साथै नेपाल र ओमान राष्ट्रिय क्रिकेट टोलीको पूर्व बलिङ प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

फ्रेन्चाइज क्रिकेटमा प्रसादले लङ्का प्रिमियर लिगमा कोलम्बो किंग्सका बलिङ प्रशिक्षक, क्यान्डी बोल्ट्सका प्रशिक्षण निर्देशक तथा क्यान्डी रोयल्सका सहायक प्रशिक्षक का रूपमा काम गरिसकेका छन् । त्यस्तै उन्ले केम्यान आईल्याण्ड म्याच ६० मा फ्लोरिडा लायन्स तथा बिग क्रीकेट लिग मा गुजरात डायमण्ड्सको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

विराटनगर किंग्सले प्रसादको अन्तर्राष्ट्रिय अनुभव, विशेषगरी बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा रहेको विशेषज्ञतालाई एनपीएलको तेस्रो संस्करणमा महत्वपूर्ण मान्दै उनलाई निरन्तरता दिएको हो ।

विराटनगर किंग्समा पुनः जिम्मेवारी पाउँदा धम्मिका प्रसादले खुशी व्यक्त गरेका छन् । उनले विराटनगर किंग्ससँग फेरि पनि काम गर्न पाउँदा आफू उत्साहित रहेको बताए ।

“विराटनगर किंग्ससँग यो सिजन पनि जोडिन पाउँदा म निकै खुसी र उत्साहित छु । गत सिजन हामी प्लेअफबाट बाहिरिनुपर्दा त्यो क्षण निकै पीडादायी र निराशाजनक थियो । हामीले धेरै मेहनत गरेका थियौँ, तर अपेक्षित नतिजा हासिल गर्न सकेनौँ । त्यसको पीडा हामी सबैसँग अझै छ । यही अनुभवले यसपटक हामीलाई अझ बलियो र प्रतिबद्ध बनाएको छ । यसपटक हामी आफ्नो शतप्रतिशत दिनेछौँ र ट्रफीका लागि अन्तिम बलसम्म लड्नेछौँ,”प्रसादले भने ।

एनपीएल सिजन–३ को तयारीअन्तर्गत विराटनगर किंग्स हाल भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षणमा रहेको छ । टोलीले त्यहाँ रणजी ट्रफीमा खेलिसकेका भारतीय खेलाडीहरूसँग फ्लडलाइटमा अभ्यास खेल खेलिरहेको छ ।

प्रसादले भारतमा भइरहेको प्रशिक्षण राम्रो ढंगले अघि बढिरहेको बताएका छन् ।

“भारतमा हाम्रो प्रशिक्षण राम्रो भइरहेको छ। खेलाडीहरूले राम्रो प्रशिक्षण पाइरहेका छन् । रणजी ट्रफीमा खेलिसकेका अनुभवी खेलाडीहरूसँग अभ्यास खेल खेल्दा हाम्रो तयारी अझ बलियो भइरहेको छ । एनपीएलका लागि हामी उत्कृष्ट तयारी गर्ने लक्ष्यमा छौँ,” प्रसादले भने ।

विराटनगर किंग्सले धम्मिका प्रसादको नेतृत्वमा एनपीएलको तेस्रो संस्करणमा बलियो प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *