सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजनाअनुसार २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने भएको छ ।

यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले देशको खेलकुद क्षेत्रको विकासका लागि परियोजना अघि बढाइएको बताए ।

उनका अनुसार प्रारम्भिक चरणमा देशका विभिन्न स्थानमा छनोट गरिएका २७ आयोजनाको निर्माण कार्य अघि बढाइनेछ । लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधारसम्बन्धी आयोजनालाई अघि बढाउन एमओयू महत्वपूर्ण हुने सरकारको अपेक्षा छ ।

मन्त्री पोखरेलले देशभरका सबै रंगशाला र खेल पूर्वाधारलाई एकैपटक स्तरोन्नति गर्न बजेट तथा प्राविधिक सीमितता रहेकाले प्राथमिकताका आधारमा २७ आयोजनाबाट काम सुरु गर्न लागिएको बताए । ‘देशभरका सबै खेल पूर्वाधार एकैपटक निर्माण गर्न सम्भव नभए पनि २७ वटा आयोजनाबाट सुरु गर्नु महत्वपूर्ण सुरुआत हो,’ उनले भने ।

सरकारका अनुसार नयाँ खेल पूर्वाधार निर्माण भएपछि स्थानीय तथा क्षेत्रीय स्तरमा खेल गतिविधि विस्तार गर्न सहज हुनेछ । यसबाट खेलाडीलाई अभ्यास तथा प्रतियोगिताका लागि आवश्यक संरचना उपलब्ध हुने अपेक्षा गरिएको छ । सरकारले आगामी दिनमा थप खेलकुद पूर्वाधारमा लगानी विस्तार गर्ने नीति लिएको पनि मन्त्री पोखरेलले बताए ।

छनोट भएका स्थानमा निर्माण कार्य तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *