दोलखा क्रिकेट सङ्घ र गौरीशङ्कर क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन भएको गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमले जितेको छ ।
जिरीको श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा काठमाडौं जिल्ला क्रिकेट टिमले ललितपुर जिल्ला क्रिकेट टिमलाई ७२ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।
पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १२ ओभरमा पाँच विकेट गुमाएर १५६ रनको विशाल योगफल बनाएको थियो । काठमाडौंका लागि बिपिशा शाहीले २८ बलमा ५५ रन बनाउँदै उत्कृष्ट ब्याटिङ गरिन् । त्यस्तै, प्रशंसा घिसिङले १५ बलमा २२ रन तथा अस्मिना कर्माचार्यले २० बलमा ३३ रनको योगदान दिइन् ।
१५७ रनको लक्ष्य पछ्याएको ललितपुरले निर्धारित १२ ओभरमा नौ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । ललितपुरका लागि सभाव्या ढकालले १९ बलमा २६ रन बनाइन् भने सबिका यादवले १८ बलमा २७ रनको योगदान दिइन् । काठमाडौंको बलिङमा अनुष्रिया नगरकोटीले तीन विकेट लिइन् ।
फाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी काठमाडौंकी बिपिशा शाही प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगितामा ललितपुरकी सभाव्या ढकाल प्लेयर अफ द टुर्नामेन्ट घोषित भइन् ।
त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट ब्याटर भक्तपुर जिल्ला क्रिकेट टिमकी अनुशा रोका घोषित भइन् भने उत्कृष्ट बलरको उपाधि ललितपुरकी प्रियााना प्रधानले जितिन् ।
प्रतियोगिताले महिला क्रिकेटको विकास, खेलाडीको प्रतिभा पहिचान तथा जिल्लास्तरमा महिला क्रिकेटको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
