रेडहर्स फुटबल क्लब इलामलाई सडेन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगितालो सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा रेडहर्स फुटबल क्लबलाई सडेन डेथमा ८-७ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि भएको सडन डेथमा पुलिस भाग्यमानी सावित हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा पुलिसका राम वाजी, सुजन मगर, दशरथ गिरी र अमित टमाटाले गोल गरे । कृष्ण गुरुङको प्रहार भने रेडहर्सका गोलकिपर विवेक मगरले बचाए । यता रेडहर्सका श्याम मुर्मु, सुजन विक, पुजन थापा र विवेक सुनामले गोल गरे । विवेक मगरको प्रहार पुलिसका गोलकिपर अमित टमाटाले बचाए ।
सडनडेथमा पुलिसका शिशिर चौधरी, सुवाश थारु, जोन विष्ट र विकास विकले गोल गरे । रेडहर्सका हेमन लिम्बू, जमिन लक्सम र विनोद धमलाले गोल गरे पनि विशाल दर्जीको प्रहार टमाटाले पन्च गर्दै बाहिर पठाएपछि पुलिस विजयी भयो ।
खेलको म्यान अफ दि म्याच निर्णायक बचाउ गरेका पुलिसका गोलकिपर अमित टमाटा घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
अब पुलिसले फाइनल प्रवेशका लागि न्यु रोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल झापा-११ र भारतको युकेएफसीबिच प्रतिस्पर्धा हुनेछ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका -१ स्थित पथरी रङ्गशालामा असोज २४ गतेसम्म सञ्चालन हुने खेलमा आठ वटा टिमको सहभागिता रहेको छ ।
पथरी-११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।
