काठमाडौं । पेपीसोलास्थित वान डे क्रिकेट एकेडेमीको यू–१५ क्रिकेट टोली पाँच खेलको मैत्रीपूर्ण शृंखलाका लागि संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ ।
एकेडेमीका अनुसार टोलीले सेप्टेम्बर २१ देखि २७ सम्म यूएईको दुबई, अजमान र शारजाहमा विभिन्न स्थानीय टोलीसँग पाँच खेल खेल्नेछ । युवा खेलाडीलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अवसर प्रदान गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको हो ।
यस भ्रमणको मुख्य उद्देश्य खेलाडीलाई खेल अनुभव, आत्मविश्वास प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट वातावरणसँग परिचित गराउनु रहेको एकेडेमीले जनाएको छ । पाँच खेलको शृंखलाका क्रममा टोलीले दुबई, अजमान र शारजाहका विभिन्न क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
एकेडेमीले यस्तो भ्रमणले युवा खेलाडीको प्रतिस्पर्धात्मक क्षमता विकाससँगै भविष्यमा उच्चस्तरीय क्रिकेटका लागि आवश्यक अनुभव हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ । वान डे क्रिकेट एकेडेमीले नियमित प्रशिक्षणसँगै आफ्ना युवा खेलाडीलाई अन्तर्राष्ट्रिय खेलको अनुभव दिलाउने उद्देश्यले यूएई भ्रमणलाई अघि बढाएको हो ।
यूएई भ्रमण गर्ने टोलीमा रिजन बस्नेत, स्विकार खड्का, अभिरूप खनाल, इन्छोन राउत, हार्दिक न्यौपाने, आरुष कार्की, सुव्रंशु पोखरेल, शहास वाग्ले, आयाम सत्याल, उल्हास न्यौपाने, सेउन्स यादव, आरुष गौतम, रिवान श्रेष्ठ, मिसन बुजेल र श्रेयांश सिंह सुबेदी रहेका छन् । टोलीका मुख्य प्रशिक्षक पुरुषोत्तम झा र म्यानेजर शम्भवी झा रहेका छन् ।
