काठमाडौं । द भेलोसिटी स्कुलको आयोजनामा दोश्रो भेलेसिटी अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
‘खेलकुदमार्फत एकता र सकारात्मक ऊर्जाको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका २४ टिमको सहभागिता रहने भेलोसिटीका एडमिन हेड एवं प्रतियोगिता संयोजक सुप्रभ घिमिरेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सहभागी हुने टिममा द भेलेसिटी स्कुल, पाठशाला स्कुल, विद्या आर्जन स्कुल, अक्सिडेन्टल पब्लिक स्कुल, चेल्सी स्कुल, नव ज्ञान पाठशाला, श्रीयन्त्र स्कुल, ग्ल्याडस्टोन एकेडेमी, विद्यावाणी पाठशाला, द सेलिब्रेसन को–एड, ब्रह्मकुञ्ज शिक्षा सदन, ग्रीनविच एकेडेमी, कृष्टियन कम्युनिटी स्कुल, बालबाटिका स्कुल, जीनियस वल्र्ड स्कुल, डाफोडिल बोर्डिङ स्कुल, यूरो स्कुल, आर्षा स्कुल, स्वस्तिश्री गुरुकुल, एकलव्य शिक्षा सदन, गोदावरी रेसिडेन्सियल स्कुल, विद्या विकास स्कुल, मदन भण्डारी स्कुल र फेरील्यान्ड इन्टरनेसनल स्कुल छन् ।
प्रतियोगितालाई सफल बनाउन १६ वटा विभिन्न संघसंस्थाहरू समेत साझेदारका रूपमा जोडिएको आयोजकले जनाएको छ ।
लिग कम नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेलहरु हरहर महादेवस्थित हरहर महादेव फुटसलमा खेलाइने छ ।
प्रतियोगिताको समापन समारोहमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङको विशेष उपस्थिति रहनेछ ।
गत संस्करणको उपाधि विद्यावाणी पाठशालाले जितेको थियो । प्रतियोगिताले विद्यार्थी, विद्यालय, अभिभावक तथा खेलप्रेमी समुदायलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको एडमिन हेड घिमिरेले बताए ।
