इटहरी । तालतलैया फुटबल क्लब इटहरीले पहिलोपटक प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ ।
क्लबका अध्यक्ष सजिवन राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका विषयमा जानकारी दिइएको हो । इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवद्र्धन तथा विकाससँगै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ ।
इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा हुने प्रतियोगिता असोज १ गते बिहीबारदेखि असोज १० गते शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू प्रत्येक दिन दिउँसो ३ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि १६ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको क्लबले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न सरकारी निकाय, व्यावसायिक प्रतिष्ठान, प्रायोजक, खेलप्रेमी तथा स्थानीय समुदायबाट सहयोगको अपेक्षा गरिएको छ ।
प्रतियोगितामा आयोजक संयम तालतलैया फुटबल क्लब, माहुली एफसी सप्तरी, डाँडा बजार एफसी धनकुटा, डागिहाट एफसी मोरङ, पञ्चायन एफसी, कुसुमे साइनिङ क्लब मोरङ, नव युवा क्लब सुकुचर, सतीसाले युवा क्लब केराबारी र फ्युजन एफसी उदयपुर गरी ९ टोलीको सहभागिता रहनेछ ।
गोल्डकपको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्नेछन् । साथै म्यान अफ द म्याच तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
अध्यक्ष राईले गोल्डकपलाई आगामी दिनमा समेत निरन्तरता दिँदै इटहरीमा फुटबलको वातावरण थप मजबुत बनाउने लक्ष्य रहेको बताउनुभयो । वि.सं. २०७२ सालदेखि इटहरीको फुटबल क्षेत्रमा सक्रिय रहँदै आएको तालतलैया फुटबल क्लबले नियमित प्रशिक्षणमार्फत विभिन्न उमेर समूहका खेलाडी उत्पादन गर्दै आएको क्लबका सचिव रोशन भुजेलले बताउनुभयो । क्लबबाट प्रशिक्षित खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका छन् भने क्लबका तीन जना खेलाडीले नेपालका विभिन्न उमेर समूहका राष्ट्रिय टोलीको प्रतिनिधित्व समेत गरिसकेको क्लबले जनाएको छ ।
