काठमाडौं । आयोजक जोन डेवीले जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत यु–१६ गर्ल्स फुटसलमा आइतबार विजयी शुरूवात गरेको छ । जोन डेवीले दोहोरा जित आत्मासात् गर्यो ।
जोन डेवीले युरो स्कुल, छाउनीलाई ७–० तथा जेम्सलाई १–० गोलअन्तरले पराजित गर्यो । सोही स्पर्धामा ग्यालेक्सी पब्लिक स्कुल, नर्थ भ्याली ‘ए’, इस्ट पोल, जेम्स, कोहिनूर र द एक्सेल्सियर स्कुलले जित हात पारे । नर्थ भ्याली ‘ए’ र ग्यालेक्सी पनि समान २–२ खेलमा विजयी भए ।
यु–१६ ब्वाइजमा वेद्व्यासले दोहोरो सफलता पायो । अन्य प्रतिस्पर्धामा एक्सेल्सियर, जोन डेवी ‘बी’, ग्यालेक्सी, चाँदबाग र डाफोडिलले सफलता हात पारे ।
फुटसलको जोन डेवीकी प्रिन्सिपल उर्वसी सुब्बा र भाइस प्रिन्सिपल उपासना सुब्बाले संयुक्त रुपमा उद्घाटन गरे । तीन विधा समावेश फुटसलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १५ र यु–१६ गर्ल्समा ९ टिमले भाग लिएका छन् ।
बास्केटबलमा न्युटन र गण्डकीे विजयी
प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा गण्डकीले एरभेष्टलाई ६१–९ ले पराजित ग¥यो । गण्डकीको सहज जितमा तेन्जिङले १३ अंक योगदान गरे । युनकि कार्कीको १४ अंक सहयोगमा न्युटनले एआईएलाई ४५–२३ ले हरायो ।
ब्वइजमै मातृभूमिले केएमसीलाई ५३–८ तथा डिफेन्डिङ च्याम्पियन हेम्सले बेलमोन्टलाई ३७–१४ ले पाखा लगाए । मातृभूमिका आरुष खड्काले १८ तथा हेम्सका अमर कुमारले १६ स्कोर गरे ।
गर्ल्स बास्केटबलमा दोहोरो जित निकालेको भ्यालीले न्युटनलाई ३८–३२ तथा आयोजक जोन डेवीलाई ३६–१० ले पन्छायो । दुवै खेलमा सर्वाधिक स्कोर गरेकी भ्याली पब्लिककी सोनीमाया तामाङले क्रमशः १६ र ११ अंक जोडिन् ।
अन्य खेलमा सत्य साइले एआईएलाई ३४–१२, मातृभूमिले निम्सलाई १६–८ र टीआईएले हिमरश्मिलाई २२–५ ले पराजित गरे । सत्य साइकी आकृति यादवले १०, मातृभूमिकी समाइराह श्रेष्ठले १३ र टीआईएकी जाल्पा तामाङले ९ अंक बटुले ।
बास्केटबलको जोन डेवीका एकेडेमिक को–ओर्डिनेटर गोकुल घिमिरे र म्यानेजमेन्ट टिमकी सदस्य पल्लवी दाहालले संयुक्त रुपमा उद्घाटन गरे । ब्वाइज-गर्ल्समा समान १६–१६ टिम सहभागी छन् ।
