काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) भोलि शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । ई स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र ई स्पोर्ट्स काउन्टीको आयोजनामा पब्जी मोबाइलको आधिकारिक दुईदिने राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्नेछन् । पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक प्रतियोगिताका रूपमा रहेको पीएमएनसीमा डीआरएससहित १६ टोली सहभागी हुनेछन् । लोकप्रिय टोली होरा ई स्पोर्ट्स भने यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको कुल पुरस्कार रकम १ हजार अमेरिकी डलर रहेको छ। यस अन्तर्गत विजेताले ४ सय अमेरिकी डलर, उपविजेताले २ सय ५० डलर र तेस्रो हुने टोलीले १ सय ५० डलर पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, चौथो स्थानमा रहने टोलीले १ सय २० डलर र पाँचौं स्थानमा रहने टोलीले ८० अमेरिकी डलर प्राप्त गर्नेछन् । साथै, शीर्ष १२ टोलीहरू ‘२०२६ पब्जी मोबाइल नेशनल च्याम्पियनसिप – साउथ एसिया फल’ का लागि छनोट हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृति प्राप्त प्रतियोगितामा खेल प्रतिस्पर्धासँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रममा गीत संगीत, फुड स्टल तथा विभिन्न गेमिङ जोनको व्यवस्था रहनेछ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपालको पब्जी मोबाइल तथा समग्र ई स्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाडी र टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *