सुनसरीको इटहरीस्थित तरहरामा आइतबारदेखि प्रथम तरहरा कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
तरहरा फुटबल क्लबको खेल मैदानमा भएको उद्घाटन खेलमा पूर्वाञ्चल युनाइटेड क्लब, मोरङ विजयी भएको हो । मधेसा एफसी, सुनसरीलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयसम्म दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टी सुटआउटमा मधेसाका आकाश राईको प्रहारलाई पूर्वाञ्चलका गोलरक्षक रोशन कार्कीले उत्कृष्ट बचाउ गरेपछि पूर्वाञ्चल युनाइटेडले ५–३ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।
खेलको म्यान अफ दि म्याच पूर्वाञ्चलका गोलरक्षक रोशन कार्की घोषित भए । उनले नगद एक हजारसहित ट्रफी हात पारे ।
प्रतियोगिताअन्तर्गत सोमबारको दोस्रो क्वार्टरफाइनल खेल शान्तिनगर फुटबल क्लब, सुनसरी र सतिसाले स्पोर्टिङ क्लब, मोरङबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाइनल असोज २२ गते हुनेछ ।
