काठमाडौं । पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल लिग (एनभिएल) र एक्सट्रिम इनर्जीबीच सहकार्य भएको छ ।
नेपाल भलिबल लिगले बुधबार एक कार्यक्रममा आयोजना गर्दै एक्सट्रिम इनर्जीलाई मुख्य प्रायोजन घोषणा गरेको हो । उक्त सम्झौता आगामी तीन वर्षका लागि हुने लिग आयोजक केडिया ग्रुपले जनाएको छ ।
एक्सट्रिम इनर्जीकी बिजनेस हेड सोनिया राणा र नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडियाले मुख्य प्रायोजनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता तीन वर्षका लागि पौने तीन करोड बराबर रहेको एनभिएलका सिईओ सन्तोष उपाध्यायले जानकारी दिए ।
नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले पुरूष भलिबल लिगले नेपाली भलिबल विकासमा ठूलो योगदान दिने आशा व्यक्त गरे । पहिलो संस्करणको फ्रेन्चाइज भदौ १९ देखि २७ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ। यसअघि भदौ ४ गतेदेखि १३ गतेसम्म हुने तयारी थियो। तर, आयोजक केडिया ग्रुप गत शुक्रबार नयाँ मिति तय गरेको हो ।
कभर्डहल उपलब्ध नभएपछि मिति नयाँ घोषणा गरिएको आयोजकले जनाएको छ । पहिलो संस्करणमा कुल ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स,काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजले पहिलो प्रतिस्पर्धा गर्दैछन् । यसका लागि गत साउन १० गते घरेलु खेलाडीको अक्सन पनि भइसकेको छ । उक्त अक्सनबाट ६ टोलीले कुल ४२ खेलाडी खरिद गरेका छन् ।
