स्पेनका युवा स्टार लामिने यामालले जारी फिफा विश्वकप २०२६ मा फ्रान्स बलियो स्थितिमा रहेको कुरालाई अस्वीकार गर्दै दुवै टोलीमध्ये कसैलाई पनि स्पष्ट दावेदार मान्न नसकिने बताएका छन् ।
‘एल पार्टिडाजो डे कोप’सँगको अन्तर्वार्तामा बार्सिलोनाका विङ्गर यामलले स्पेन फ्रान्ससँग डराउनुपर्ने कुनै कारण नभएको र नकआउट चरणमा आफ्नो टोली उत्कृष्ट रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे ।
‘युरो कपदेखि उनीहरूले हामीलाई हराउन सकेका छैनन् । उनीहरू हामीभन्दा उत्कृष्ट हुन सक्दैनन्’ फ्रान्सबारे यामालले टिप्पणी गरे ।
समूह चरणको प्रदर्शनले नकआउट चरणमा खासै अर्थ नराख्ने पनि उल्लेख गरे ।
स्पेनले विश्वकप २०२६ को सुरुवात केप भर्डसँग गोलरहित बराबरी खेल्दै गरे पनि त्यसपछि साउदी अरेबियालाई ४–० ले हराउँदै र उरुग्वेलाई १–० को कठिन खेलमा पाखा लगाउँदै लय समातेको थियो । प्रतियोगिताको सुरुमा पूर्ण रूपमा फिट नरहेका यामाल सुरुवाती खेलमा बेन्चमा थिए । अब स्पेनले जुलाई ३ मा लस एन्जलस स्टेडियममा राउन्ड अफ ३२ अन्तर्गत अस्ट्रियाको सामना गर्दैछ ।
उता, कप्तान किलियन एमबाप्पेको दुई गोलको मद्दतले स्वीडेनलाई ३–० ले हराउँदै फ्रान्स भने यसअघि नै राउन्ड अफ १६ मा प्रवेश गरिसकेको छ ।
