सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्दै यसलाई पूर्वखेलाडी तथा खेलप्रेमीहरूको नेतृत्वमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
फिफाद्वारा एन्फा निलम्बन गरिएको प्रसङ्गमा सरकारका प्रवक्ता एवं खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो धारणा राखेका हुन् । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले एन्फामा लामो समयदेखि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार हुँदै आएको स्वीकार गरे ।
उनले विगतका विभिन्न सरकारहरूबाट भएका शृङ्खलाबद्ध हस्तक्षेप र आर्थिक अनियमितताका कारण अहिले फिफाले निलम्बन गर्ने परिस्थिति सिर्जना भएको सुनाए ।
मन्त्री पोखरेलले एन्फाभित्रका विभिन्न अनियमितता र भ्रष्टाचारका उजुरीमाथि विस्तृत छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए । छानबिन समितिको प्रतिवेदन प्राप्त हुनासाथ आवश्यक कदम चालिने उनको भनाइ छ ।
नेपाली फुटबल इतिहासकै कठिन मोडमा पुगेको बताउँदै मन्त्री पोखरेलले भने, ‘नेपालको डिभिजन लिगका खेलहरू हुन सकेका छैनन्, फुटबलको विकास ठप्प छ। एन्फाका लागि योभन्दा तल खस्कने ठाउँ नै छैन ।’ उनले यस संकटबाट निकास निकाल्न आफूले व्यक्तिगत रूपमा खेल विज्ञहरूसँग निरन्तर छलफल गरिरहेको समेत बताए । फुटबल निलम्बन फुकुवाका लागि फिफा र एसियाली फुटबल महासंघ (एएफसी) सँग औपचारिक संवाद सुरु भइसकेको उनले जानकारी दिए ।
उनका अनुसार फिफा र एएफसीका पदाधिकारीहरूलाई सरकारले वार्ताका लागि नेपाल आमन्त्रण गरिसकेको छ । उनले आगामी दिनमा गठन हुने एन्फामा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरिने दृढता व्यक्त गरे ।
मन्त्री पोखरेलले भने, ‘अब बन्ने एन्फा राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुने छैन, यसलाई विशुद्ध फुटबल बुझेका खेलाडी र खेलप्रेमीहरूको जिम्मा लगाइनेछ ।’
