नेपालको पर्वतीय पर्यटन र साहसिक खेलकुद संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यका साथ राजधानीमा आयोजित “टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२६” भव्य रूपमा सम्पन्न भएको छ ।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA) काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा भएको यस प्रतिष्ठित प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री सुरेश श्रेष्ठले गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको प्राकृतिक सम्पदा र हिमालसँग प्रत्यक्ष जोडिएको स्पोर्ट क्लाइम्बिङ खेलको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । युवाहरूमा साहस, अनुशासन र नेतृत्व क्षमताको विकास गराउनुका साथै मुलुकको पर्यटन प्रवर्द्धनमा यो खेल कोशेढुङ्गा सावित हुने उनको विश्वास थियो ।
प्रतियोगितामा देशभरका कुल ८७ जना साहसी खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए, जसमा पुरुष र महिला गरी दुवै विधामा उत्साहजनक सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय मापदण्ड (IFSC) अनुसार सञ्चालन गरिएको यस प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले प्रादेशिक स्तरमा यस खेलको पूर्वाधार विकास, प्रतिभा पहिचान र राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि परिषद्ले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पर्यटन, निजी क्षेत्र र खेलकुद जगत्का विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
यस पटकको च्याम्पियनसिपमा अमेरिकी दूतावास, काठमाडौंका सार्वजनिक मामिला प्रमुख माइक हार्करलाई विशेष अभिनन्दन गरिएको थियो । गत २० मे २०२६ का दिन सगरमाथाको सफल आरोहण गरी इतिहास रचेका पहिलो अमेरिकी कूटनीतिज्ञ भएकाले साहसिक खेलकुद र नेपाल–अमेरिका मैत्रीपूर्ण सम्बन्धको सम्मानस्वरूप उनलाई एनसीएसए (NCSA) ले विशेष सम्मान प्रदान गरेको हो ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई नगद, पदक तथा प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो।
लिड क्लाइम्बिङ (Lead Climbing) पुरुषतर्फ: प्रथम स्थान हासिल गर्दै साजन लामाले रु. ५०,००० नगद पुरस्कार जिते भने सुलभ राई (रु. ३०,०००) दोस्रो र तेन्जिन बर्टिन राई (रु. २०,०००) तेस्रो स्थानमा रहे । महिलातर्फ स्वस्तिका चौधरीले प्रथम स्थान प्राप्त गरी रु. ५०,००० हात पारिन् । त्यस्तै, मनिषा बुढा मगर (रु. ३०,०००) द्वितीय र रबिका महर्जन (रु. २०,०००) तृतीय भए ।
यसैगरी टप रोप क्लाइम्बिङ (Top Rope Climbing) पुरुषतर्फ नमल बोहोराले प्रथम स्थानसहित रु. १०,००० प्राप्त गरे । लाक्फा तेन्जिन शेर्पा (रु. ८,०००) दोस्रो र केमन क्षेत्री (रु. ५,०००) तेस्रो हुन सफल भए । महिलातर्फ पेम्बा छोकी शेर्पाले प्रथम स्थान ओगट्दै रु. १०,००० जितिन् भने करुणा ठाकुर (रु. ८,०००) दोस्रो र नायुमी खनाल (रु. ५,०००) तेस्रो स्थानमा चित्त बुझाउन सफल भए ।
