काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’ साउन १३ देखि १५ गते (जुलाई २९, ३० र ३१) सम्म काठमाडौंको बुढानीलकण्ठ–३ स्थित मिस्टिक क्लबमा आयोजना हुने भएको छ ।

आइतबार बुढानीलकण्ठ नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको विशेष उपस्थितिमा प्रतियोगिताबारे जानकारी दिइएको हो । आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन साउन १३ गते (जुलाई ३०)बिहान ११ बजे हुनेछ ।

नेपाल मिक्स बक्सिङ एसोसिएसनका अध्यक्ष राजेश तामाङका अनुसार प्रतियोगितामा नेपालसहित ११ देशका खेलाडी सहभागी हुनेछन् । नेपालसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अजरबैजान, घाना, अमेरिका, जर्मनी, चीन र चिलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले लगानी बढाउँदै लगेको बताए ।

उपप्रमुख अनिता लामाले बुढानीलकण्ठलाई खेलकुदमैत्री नगरका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै खेलकुदलाई नगरको मेरुदण्डका रूपमा अघि बढाइने बताइन् ।

आयोजकका अनुसार प्रतियोगिताले नेपालमा मिक्स बक्सिङ खेलको विकास, युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने तथा खेल पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपाल मिक्स बक्सिङ एसोसिएसनले यसअघि एसियन मिक्स बक्सिङ च्याम्पियनसिप समेत सफलतापूर्वक आयोजना गरिसकेको छ । यस पटकको विश्वस्तरीय प्रतियोगिताले नेपालको अन्तर्राष्ट्रिय खेलकुद छवि अझ सुदृढ बनाउने विश्वास आयोजकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *