ललितपुर । नेपाल एपीएम टेबल टेनिस क्लब, भैँसेपाटीको आयोजनामा नेपाल एपीएम डबल्स टेबलटेनिस च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा विभिन्न क्लबका गरी १ सय २० खेलाडी सहभागी थिए । प्रतियोगिताको उपाधि इखाछेँ टेबलटेनिस क्लबका राजेन्द्र श्रेष्ठ र राजु शाक्यको जोडीले जिते । अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा उनीहरूले स्पिन टेबलटेनिस क्लबका ज्याकी महर्जन र प्रज्ञा महर्जनको जोडीलाई ३–२ सेटले पराजित गरे ।

त्यसैगरी, स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रमेश कार्की र धर्मराज थापा तथा भोर्टेक्स टेबलटेनिस क्लबका महेश श्रेष्ठ र रणोज ठाकुको जोडी संयुक्त रूपमा तेस्रो स्थानमा रहे । विजेता टोलीले ३० हजार उपविजेताले १५ हजार तथा सेमिफाइनलिस्टले रु. ५–५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि इन्टरटेनमेन्ट टेबल टेनिसका अध्यक्ष सुमन खड्गी रहनुभएको थियो । समारोहका अवसरमा सहभागी खेलाडीहरूका लागि लक्की ड्र कार्यक्रम पनि आयोजना गरिएको थियो, जसअन्तर्गत टेबलटेनिसका रबर, बल, टी–सर्टलगायत विभिन्न खेल सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।

नेपाल एपीएम टेबलटेनिस क्लबले यस्ता प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै नेपाली टेबल टेनिसको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *