काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीले अस्ट्रेलियामा आयोजना हुने विभिन्न चार अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

तेक्वान्दोका ग्योरोगी तथा पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक बब्लुले विश्व तेक्वान्दोको वरीयता प्राप्त ओसियना ओपन पारा तेक्वान्दो च्याम्पियनसिप (जी–फोर), डब्लुटीए प्रेसिडेन्ट कप (जी–थ्री), अस्ट्रेलियन ओपन (जी–टु) र गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिप (जी–टु) मा निर्णायकको भूमिका निर्वाह गर्ने  छन् ।  

अस्ट्रेलियन तेक्वान्दो तथा ओसियाना तेक्वान्दोको संयुक्त रुपमा आयोजनामा हुने प्र्रतियोगिता जुन १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ । उनले यसअघि सन् २०२४ र २०२५ मा पनि यी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

बब्लुले यसअघि मलेसियामा पाहाङ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसपमा निर्णायकको भूमिका गरेका थिए । उनले केही समयअघि मंगोलियाको उलनबटारमा आयोजना भएको २७औं एसियन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

गत मे १९ देखि २६ तारिखसम्म सञ्चालन भएको विभिन्न चार अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । उनले २७औं एसियन तेक्वान्दो च्याम्पियनसिपसँगै नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप, ११औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिप र जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

बब्लुले सन् २०२३ जनवरी १२ देखि १५ सम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए भने सन् २०२४ सेप्टेम्बर १७ देखि २५ तारिखसम्म आयोजना भएको पुम्से रेफ्री कोर्स उत्तीर्ण गरेका थिए । उनले अस्ट्रेलिया, जापान, भियतनाम, मलेसिया, श्रीलंका, बंगलादेश, चीनलगायतका मुलुकमा पुगेर निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । श्रीलंकामा उनी उत्कृष्ट अन्तर्राष्ट्रिय निर्णायकसमेत चुनिएका थिए । उनले रेफ्रीको नयाँ नियमका बारेमा जानकारी लिन भारत, काजकिस्तान र भियतनाममा ‘रिफ्रेसर कोर्स’ पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *