टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप यु-१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको उपाधि भिडन्तमा टिप टप न्यु डायमन्डले न्यु डायमन्ड एकेडेमीलाई २५-१६, २५-९ र २५-१० को सोझो सेटमा पराजित गर्यो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गणेश हिमाल तेश्रो भयो । गणेश हिमालले सरस्वती मावि, हेलम्बुलाई सीधा सेटमा २५-१८, २५-१६ र २५-१३ ले हरायो । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितमा टिप टप न्यु डायमन्डकी निशा महर उत्कृष्ट खेलाडी घोषित भइन् । निशाले १० हजार नगद पुरस्कार हात पारिन् ।
टिप टप न्यु डायमन्डकी जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट ब्लकर र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । न्यु डायमन्डकी गृष्मा गुरुङ उत्कृष्ट डिफेन्डर, नम्सार राना उत्कृष्ट सेटर र एलिशा श्रेष्ठ उत्कृष्ट सर्भर बने । विधागत उत्कृष्ट सबैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष समेत रहेका आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, प्रतियोगिता संयोजक एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसीलगयतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
