सुर्खेत । एक्सट्रिम तेस्रो हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले जितेका छन् ।
प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज भएको २१ किलोमिटर दौड रोकायले एक घण्टा नौ मिनेट ३१ सकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन् ।
रोकायले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका छन् । एक्सट्रिम इनर्जी ड्रिंक टाइटल स्पोन्सर रहेको प्रतियोगितामा कालीकोटका विनोद रोकाय दोस्रो र विभागीय टोली एपीएफका गोपिचन्द्र पार्की तेस्रो भए ।
महिलातर्फको १० किलोमिटर दौडको उपाधी धादिङकी सन्तोषी श्रेष्ठले हात पारिन् । उनले निर्धारित दूरी ३६ मिनेटमा पूरा गरिन् । उक्त दौडमा जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र बाजुराकी सिर्जना पाण्डे तेस्रो भइन् ।
महिलातर्फको पाँच किलोमिटर दौडको उपाधि सुर्खेतकी कृष्णा रानाले हात पारिन् । उनले निर्धारित दूरी २० मिनेटमा पूरा गरिन् । पुरुषतर्फ पाँच किलोमिटर दौडमा कालीकोटका अनिल शाही प्रथम भए ।
विजेता खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्रफी, मेडल, प्रमाणपत्र र पुरस्कार राशीले सम्मान गरेकी थिइन् ।
