काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा सम्पन्न पाँचौँ राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।
प्रतियोगितामा लुम्बिनी प्रदेशले ४ स्वर्ण, ४ रजत र ७ कास्य पदक जित्दै पहिलो स्थान हासिल गर्यो । ३ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहित कोशी प्रदेश दोस्रो तथा ३ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित मधेस प्रदेश तेस्रो स्थानमा रह्यो ।
व्यक्तिगत तर्फ पुरुषतर्फको उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) को उपाधि कोशी प्रदेशका अङ्कित लिम्बूले प्राप्त गरे । उनले ६० केजी तौल समूहमा स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसैगरी महिलातर्फको उत्कृष्ट खेलाडीको उपाधि मधेश प्रदेशकी अनु मोक्तान ले जितिन् । उनले ५० केजी तौल समूहमा स्वर्ण पदक हासिल गरेकी थिइन् ।

प्रतियोगिताका विजेता खेलाडी तथा टोलीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, गोजुरियो करातेका अध्यक्ष गणेश कार्की, नेपाल ओलम्पिक कमिटीका सचिव राम श्रेष्ठ, वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी, संघका पदाधिकारी लगायतले पुरस्कार तथा पदक वितरण गरेका थिए ।
प्रतियोगितामा देशभरका ७ वटा प्रदेशका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले राष्ट्रिय स्तरमा कराते खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक समितिका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले बताए ।
