काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको ट्रफी बुधबार सार्वजनिक गरिएको छ ।
आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायत पदाधिकारीको उपस्थितिमा प्रतियोगिताको मुख्य विधा पुरुष÷महिला सिंगल्सको विजेतालाई प्रदान गरिने ट्रफी सार्वजनिक गरिएको हो ।
अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महार्जनका अनुसार उक्त ट्रफी प्रसिद्ध मूर्तिकार सुरेन्द्र शाक्यले तयार गरेका हुन् ।
नेपाली कला र संस्कृतिको पहिचान झल्किने गरी ट्रफी तयार गरिएको उनले बताए । राष्ट्रिय टेबलटेनिस प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी ११ स्पर्धामा खेल हुनेछ । सिनियरमा पुरुष÷महिला सिंगल्स डबल्स र टिम तथा मिक्स डबल्समा खेल हुनेछ । जुनियर यु–१९ तथा क्याडेट यु–१५ मा ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी÷नेपाल आर्मी÷एपीएफ) गरी १० टिमको सहभागिता रहने छ । जम्मा १ सय १६ खेलाडी सहभागी हुने छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
