काठमाडौं महानगरपालिका–४ को आयोजनामा जेठ १६ र १७ गते अन्तर वडा पौडी प्रतियोगिता आयोजना हुने भएको छ ।

आइतबार नेपाल खेलकुद पत्रकार मञ्च, त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिता वडा अध्यक्ष कुश ढकालको नेतृत्व तथा सचिव सम्भु बरालको समन्वयमा सञ्चालन हुने जनाइएको छ । साथै, नेपाल पौडी संघले प्रतियोगितामा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

प्रतियोगितामा महानगरभित्रका प्रत्येक वडाबाट ८ जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताअन्तर्गत फ्री स्टाइल, ब्रेस्ट स्ट्रोक, ब्याक स्ट्रोक तथा मिड–इभेन्ट्स समावेश गरिएका छन् । प्रतियोगितामा करिब १५० जना पौडी खेलाडीले ३१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र एक पुरुष खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगिताले युवाहरूमा पौडी खेलप्रति आकर्षण बढाउनुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । साथै, वडा स्तरबाटै खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

वडा अध्यक्ष कुश ढकालले खेलकुदमार्फत युवाहरूलाई अनुशासित, सक्रिय र स्वस्थ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । सचिव सम्भु बरालले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *