प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बल क्लब (एपिएफ) ले उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली प्रदेशविरुद्ध १० विकेटको फराकिलो जित दर्ता गरेको छ ।

जनकपुरमा सम्पन्न खेलमा कर्णालीले दिएको १०८ रनको सामान्य लक्ष्य सशस्त्र प्रहरी क्लबले मात्र १२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । टोलीका लागि दीपक बोहोराले अविजित ४२ रन बनाउँदा आसिफ शेखले अविजित ६५ रनको आक्रामक पारी खेले ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३६ ओभरमै अलआउट हुँदै १०७ रनमा सीमित भयो । कर्णालीका अर्जुन घर्तीले अविजित ३८ रन बनाए भने दीपेन्द्र रावतले २५ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली सस्तो स्कोरमै समेटियो ।

सशस्त्र प्रहरी क्लबका बलरमध्ये कमल ऐरी र अभिषेक गौतम चम्किए । दुवैले समान ४–४ विकेट लिँदै कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त पारे ।

यस जितसँगै सशस्त्र प्रहरी क्लबले पछिल्ला पाँच खेलपछि पहिलो जित निकाल्दै प्रतियोगितामा पुनरागमनको संकेत दिएको छ । यता कर्णाली प्रदेशले भने लगातार तेस्रो हार व्यहोरेको छ । जारी सिजनमा ६ खेल खेलेको सशस्त्र प्रहरी क्लबले ५ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *