ओपनर अर्जुन कुमालको कीर्तिमानी शतकको सहयोगमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ ।

छैटौं खेलमा दोस्रो जित हात पार्ने क्रममा शनिबार सम्पन्न खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले अर्जुनको शतक सहयोगमा ७ विकेट गुमाएर २२७ रनको योगफल तयार गरेको थियो ।

गण्डकीका लागि अर्जुनले सर्वाधिक १०२ रन बनाएका थिए । अर्जुनले १४१ बलको सामना गरेकामा ८ चौका प्रहार गर्दै इनिङको अन्तिम बलमा रन आउट भएका थिए । यस संस्करणको पिएम कपमा उनको यो पहिलो तथा समग्र प्रतियोगिताको इतिहासमा भने दोस्रो शतक हो ।

यस संस्करणको पिएम कपमा मधेश प्रदेशका दुवै मैदानमा बनेको यो पहिलो शतक हो । यसै शतकको सहयोगमा अर्जुनले पिएम कपको इतिहासमा सर्वाधिक कम खेलमा १ हजार रन पूरा गर्ने कीर्तिमान समेत बनाएका छन् ।

अर्जुनले २५ खेलमा १ हजार रन पूरा गरे । ६० रनमा ६ विकेट गुमाएर कम योगफल तर्फ अघि बढेको गण्डकीका लागि कप्तान विपिन खत्रीसँग मिलेर अर्जुनले सातौं विकेटका लागि १६७ को कीर्तिमानी साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।

पिएम कपको इतिहासमा यो सातौं विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि आर्मीका लागि कुशल मल्ल र बसिर अहमदले २०२४ को संस्करणमा सुदूरपश्चिम प्रदेशविरुद्ध सातौं विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । समग्रमा भने यो चौथो ठूलो साझेदारी हो । गण्डकी प्रदेशको ६ विकेट गुमाएपछि मैदानमा आएका कप्तान विपिनले ८६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७६ रनको अविजित इनिङ खेले ।

दिपक डुम्रे १५ तथा मुस्कान थापा १० रनमा आउट भए । कोशीका लागि दिपेश कँडेलले ४ तथा राकेश शाह र कप्तान सुजन थपलियाले समान १ विकेट आफ्नो नाममा गरे । २२८ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन मात्र बनायो ।

कोशीका लागि आठौं नम्बरमा ब्याटि गर्न आएका दीपेश कँडेलले अविजित रहँदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । टिमलाई जिताउँन दिपेशले बलिङ ब्याटिङबाटै महत्वपुर्ण योगदान गरे पनि जित दिलाउन भने सकेनन् । उनले ७३ बलको सामना गर्दै ३ चौका र १ छक्काका प्रहार गरे । आशिस थापा मगर ३०, सुमन श्रेष्ठ २०, शाकिब हक १७, शिवान्स बजगाईं १५ तथा सोनु अन्सारी १८ रनमा आउट भए । गण्डकीका लागि सिव्रिन श्रेष्ठले ३ तथा अपराजित पौडेल र सुवास भण्डारीले समान २ विकेट लिए । कमल परियार र कप्तान विपिन खत्रीको नाममा समान १ विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *