३८औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गर्दै सम्राटले अन्तिम चारको यात्रा तय गरेको हो ।
एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको सम्राटले अब फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको विर्सामुण्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । ४४औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए ।
खेलको ५०औँ मिनेटमा सम्राटले बराबरी गोल फर्कायो। सौरव तामाङको उत्कृष्ट क्रस पासलाई मौसम लिम्बुले डिबक्स भित्रबाट गोलमा परिणत गरे । ८६औँ मिनेटमा प्रताप तामाङले गोल गर्दै सम्राटलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गरिएको अतिरिक्त समयमा प्रतापले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३–१ को जित सुनिश्चित गरे ।
उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा दुई पूर्व विजेता टोलीहरू विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
