काठमाडौं । राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।
नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन लिग चरणका खेल सकिएसँगै पुरुषतर्फ अन्तिम चार टोलीको टुंगो लागेको हो ।
पुरुषतर्फ समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता तथा गण्डकी प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । आर्मीले लिग चरणमा कर्णाली प्रदेशलाई ३७–०, गण्डकी प्रदेशलाई १७–५ तथा मधेस प्रदेशलाई ७४–० ले हराउँदै अपराजित रहँदै समूह विजेता बन्न सफल भयो ।
गण्डकी प्रदेशले मधेसलाई ३६–० र कर्णालीलाई १२–५ ले पराजित गरे पनि आर्मीसँग १७–५ ले हार व्यहोर्दै उपविजेताको रूपमा अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।
यस्तै, समूह ‘बी’ बाट एपीएफ क्लब विजेता तथा कोशी प्रदेश उपविजेता बनेका छन् । एपीएफले कोशीलाई २४–० र बागमतीलाई ३४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । कोशीले सुरुआती हारपछि बागमतीलाई २९–५ ले पराजित गर्दै उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गर्यो ।
महिलातर्फ समूह ‘ए’ को समीकरण पनि टुंगिएको छ । बागमती प्रदेश विजेता तथा कर्णाली प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । बागमतीले मधेसलाई ३५–० ले हराउनुका साथै कर्णालीसँग १०–१० को बराबरी खेल्दै लुम्बिनीलाई २०–० ले पराजित गरी समूह विजेता बन्यो ।
कर्णालीले बागमतीसँग बराबरी खेल्नुका साथै लुम्बिनीलाई २४–० र मधेसलाई २७–० ले हराउँदै उपविजेता बन्यो ।
महिलातर्फ समूह ‘बी’ को भने एक खेल बाँकी रहेको छ। यस समूहबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेको छ । आर्मीले एपीएफलाई १४–५ र सुदूरपश्चिम प्रदेशलाई ४४–० ले पराजित गर्दै समूह विजेता बनेको हो । अब सुदूरपश्चिम र एपीएफबीच हुने खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचन्द्र मेहताले उद्घाटन गरेको प्रतियोगिताको सेमफाइनल फाइनल तथा समापन आइतबार हुनेछ । प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले समान ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट महिला र पुरुष खेलाडीले समान ५–५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा विभागीय टोलीहरू एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबसँगै बागमती, कर्णाली र मधेस प्रदेशका महिला तथा पुरुष टोली सहभागी छन्। कोशी, सुदूरपश्चिम र लुम्बिनीबाट महिला टोली मात्र सहभागी हुँदा गण्डकी प्रदेशबाट भने पुरुष टोलीले मात्र प्रतिस्पर्धा गरिरहेको छ ।
